नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको प्रक्रिया आज टुंगोमा पुग्ने संकेत देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्थगित मन्त्रिपरिषद् बैठकलाई आज मंगलबार अपरान्ह ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन्

बैठकअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिको विषयमा सहमति जुटाउने अन्तिम प्रयासस्वरूप छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन्। सत्तारुढ एमाले र कांग्रेसबीच गहिरिँदो अविश्वासबीच पनि गभर्नर नियुक्तिमा सहमतिको प्रयासले सकारात्मक संकेत दिएको छ।
विश्वस्त स्रोतका अनुसार कांग्रेसले योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलको नाम सिफारिस समितिबाट अघि सारेको हो। यद्यपि दुईपटक पुनर्गठन गरिसकिएको समितिको बैठक अहिलेसम्म बसेको छैन। तर आज मन्त्रिपरिषद्बाट डा. पौडेलको नाम अनुमोदन हुने सम्भावना प्रबल देखिएको छ।
गभर्नर नियुक्तिको असर बजारमा देखियो
आजको नेप्से परिसूचक ४९.०९ अंकले उकालो लागेर २६७७.४५ अंकमा पुगेको छ। बजारमा गभर्नर नियुक्तिसम्बन्धी सकारात्मक अपेक्षा, राजनीतिक संवाद र सहमतिको संकेतले लगानीकर्ता मनोबलमा सुधार देखिएको हो।
यसैबीच, छ्याङदी हाईड्रोपावरले हकप्रद सेयर ल्याउने घोषणा गरेको छ। कम्पनीले यही जेठ २३ गतेदेखि १:१ अनुपातमा ३८ लाख ६७ हजार ७७५ कित्ता सेयर रु.१०० अंकित मूल्यमा निष्कासन गर्न लागेको छ। यस्तो पृष्ठभूमिमा गभर्नर नियुक्तिको टुंगोले आगामी दिनमा सेयर बजार थप सक्रिय हुने अनुमान गर्न सकिन्छ।