नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता करिब १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९० प्रतिशत अर्थात २३.८० अंक घट्दै २६०७.३७ विन्दुमा झरेको हो। पाँच कारोबार दिन खुलेको बजारमा एक दिन मात्र परिसूचक बढेको थियो भने बाँकी चार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.६६ अंक, फ्लोट इण्डेक्स १.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले घटेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत साता दैनिक औसत ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा यस साता औसत ४ अर्ब १९ करोड रुपैयाँमा सीमित रह्यो, जुन २१.९५ प्रतिशतले कम हो। दैनिक औसत सेयर संख्या २३.७४ प्रतिशत घट्दा कारोबार संख्या भने १८.३३ प्रतिशत बढेको छ।
कुल बजार पुँजीकरण पनि करिब १ प्रतिशतले घटेर ४३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ। गत साता अन्तिम दिन बजार पुँजीकरण ४४ खर्ब १७ अर्ब रुपैयाँ थियो।
१३ उपसमूहमध्ये यस साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक २.३९ प्रतिशतले बढ्दै ८२४९.१२ विन्दुमा पुगेको छ। विपरीत, वित्त उपसमूह २.५६ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो। अंकका आधारमा निर्जीवन बीमा उपसमूह सबैभन्दा धेरै १७२.१२ अंकले घटेर १० हजार ८०२.५२ विन्दुमा झरेको छ।